Friday, October 3, 2008

Bhairav (श्रीभैरव)


श्रीभैरव

श्रीभैरवलाई भगवान शंकरको पाँचौ अवतार एवं प्रमथादि गणमध्ये एक मानिन्छ । यो स्वरूप लिएर शिवले नृसिंहलाई वशमा ल्यउनु भएको थियो । शिवको अंश भएका भैरवको शक्तिलाई भैरवी भनिन्छ ।
शुद्ध स्फटिक झै हजारौं सूर्य झौ तेजस्वी, नीलो मेघ समान, नीलप्रभायुक्त ठूला-‍ठूला दाँतले गर्दा भयानक मुख भएका, हिंडदा अनेक शब्द निकाल्ने, सर्पका मेखला धारण गर्ने, अग्निको वर्ण झै केश भएका दिगम्बर, कुमारीश एवं महाबलशाली श्रीभैरव सम्पूर्ण योगिनी, भूत-प्रेत तथा पिशाचको अधिपति हुनुहुन्छ । कालो वर्ण, दश हात र तीन नेत्र भएका श्रीभैरवले हातमा खड्ग, त्रिशुल, पासो, डमरु, खप्पर र वरदमुद्रा धारण गर्नु भएको छ । अत्यन्त क्रोधशाली एवं चौंसठ्ठी योगिनीसंगै नाच्दै हिंडने श्रीभैरवले आफ्नो वाहन कुकुरलाई सधैं साथ लिनु हुन्छ ।
भयङ्कर डरलाग्दो स्वरूप भएका श्रीभैरवलाई भूतनाथ, श्मशानवासी, मांसासी, खर्पराशि, पिंगलोचन, कंकालधारी, कपालमाली, भूतध्यक्ष, दैत्यहा, नागपाश, त्रिलोचन, दिगम्बर, योगिनीपति, आदि हजारौं नामले पुकारिन्छ ।

श्रीभैरवले आफ्नो भक्तहरूलाई सबै आपदबाट उद्धार गर्ने, सम्पूर्ण दुःख नाश गर्ने, सबै शत्रुलाई दमन गरी पीडा दिने, सम्पूर्ण रोग तथा डस-त्रासलाई नाश समन गरी अभय गरिदिनु हुन्छ । यस्ता अत्यन्त बलशाली श्रीभैरवको जसले श्रद्धा एवं प्रशन्नतापूर्वक ध्यान गरेर जप गर्दछ त्यसले बल, तेज, यश, सौभाग्य प्राप्त गर्नु साथै उसको सम्पूर्ण मनकामना पूरा हुन्छ ।

_______________________________
If I am not Posting. 
I may be doing something at these places:

Youtube
Esnips

No comments: